अन्तर्राष्ट्रिय

चीनका विदेशमन्त्री किन गाङ पदमुक्त, नयाँ जिम्मेवारी वाङ यीलाई

एजेन्सी । एक महिनासम्म सार्वजनिक सम्पर्कभन्दा बाहिर रहेको भनिएका चीनका विदेशमन्त्री किन गाङलाई मङ्गलबार पदबाट हटाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको शीर्ष विधायिकाले किनलाई पदबाट हटाउने र उनको स्थानमा उनीभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ ।

किनको अनुपस्थितिले राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका ५७ वर्षीय किन अनुग्रहबाट हटेको थियो वा आधिकारिक अनुसन्धानको अधीनमा थिए भन्ने अड्कलबाजीहरू सुरु भएका छन् ।

चीनको विदेश मन्त्रालयले यसअघि ‘स्वास्थ्यका कारण’ जिम्मेवार रहेको बताए पनि पछिल्लो समय यस सम्बन्धमा प्रतिक्रियाका लागि एएफपीले सम्पर्क गर्दा कुनै जानकारी दिन अस्वीकार गरेको थियो ।

सिन्ह्वाले किनलाई पदबाट हटाउनुको कारण खुलाएको छैन तर सीले उक्त निर्णय लागू गर्न राष्ट्रपतिय आदेशमा हस्ताक्षर गरेको जनाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मङ्गलबार किनका बारेमा पटक–पटक सोधिएको प्रश्नमा आफूसँग ‘कुनै जानकारी नभएको’ र ‘चीनको कूटनीतिक गतिविधि निरन्तर अघि बढिरहेको’ बताए ।