राजनीति

सुन तस्करी प्रकरणबारे गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्छ : लामिछानेले

१० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने समेत बताए ।

१०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भन्दै प्रश्न गर्दै उनले भने, “भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्‍याउँथ्यो होला नि, मालिकलाई नै कर्‍याप झ्याप पार्न सकिन्थ्यो होला नि त ? किन गरिएन ?”

त्यस्तै, उनले यस प्रकरणमा केही कर्मचारीको सरुवा मात्र गरिएको भन्दै यो पुरस्कार हो कि कारबाही भनेर प्रश्न गरे । डामेर छोडेपछि सूचना लुकाउने अवसर मिल्ने भन्दै उनले गम्भीर हुन अनुरोध गरे ।

यसबारे आफूहरुले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै लामिछानेले भने, ‘गृहमन्त्रीले गम्भीर रुपमा लिएर सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न पाइँदैन ।’