समाचार

समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमारलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा थुनामा रहेका तत्कालीन समरजंग कम्पनीका प्रमुख रमेशकुमार पोखरेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालले पोखरेलको तर्फबाट दायर रिटमा बुधवार बन्दी प्रत्यक्षीकरणको आदेश दिन अस्वीकार गरेका हुन् । सर्वोच्च अदालतले पुनः म्याद थपको माग भएर आएको अवस्थामा ‘वस्तुनिष्ट विश्लेषण गरेर मात्र आदेश गर्नुहोला’ भनेर जिल्ला अदालत काठमाडौँलाई आदेश गरेको छ ।

पोखरेलको स्वास्थ्य अवस्था र थुनामा नराखिकन अनुसन्धान गर्दा उनले अनुसन्धानमा प्रभाव पार्न सक्ने वा नसक्ने अवस्थाको ‘वस्तुनिष्ट विष्लेषण गर्न’ सर्वोच्चले जिल्ला अदालतलाई आदेश गरेको छ ।

पोखरेललाई केन्द्रीय अनुसन्धान ब्यूरोले असार १८ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बुधवार उनीसहित ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।