अन्तर्राष्ट्रिय

पाकिस्तानको पञ्जाबमा आएको बाढीका कारण सयौं विस्थापित

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा चिनाब नदीको किनारमा आएको बाढीका कारण कम्तीमा ५० गाउँ डुबानमा पर्दा सयौं मानिस विस्थापित भएका अधिकारीहरूले बिहीबार बताएका छन् ।

मनसुनी वर्षाका कारण आएको बाढीका कारण यस महिनाको सुरुमा प्रान्तका अन्य गाउँबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

‘चिनियोट फ्लड कन्ट्रोल रुम’का अधिकारी औरोङ जैबले मौसमी वर्षाका कारण पानीको सतह बढेको बताए । “नदी कटानका कारण तल्लो भेगका गाउँहरू बाढीबाट प्रभावित भएका छन्,” उनले एएफपीसँग भने ।

छिमेकी भारतले सिन्धुनदीमा पानी छोड्न स्लुइस गेट खोलेपछि पनि नदीको सतह प्रभावित भएको छ । अधिकारीहरूले चिनाब नदीमा सुरक्षात्मक तटबन्ध निर्माण गर्ने योजना घोषणा गरेका छन् तर आगामी दिनमा अझै बाढी आउने चेतावनी दिएका छन् ।

दक्षिण एसियाको वार्षिक वर्षाको ७० देखि ८० प्रतिशत वर्षा जुनदेखि सेप्टेम्बरसम्म मनसुनले गर्छ । करिब दुई अर्ब जनसङ्ख्या भएको यस क्षेत्रमा लाखौं किसानको जीविकोपार्जनका लागि यो महत्वपूर्ण छ तर यसले पहिरो र बाढी पनि ल्याउँछ । वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनले मौसमी वर्षालाई भारी र अप्रत्याशित बनाइरहेको छ ।

पाकिस्तान दीर्घकालीन जलवायु जोखिमको खतरामा रहेका देशहरूमध्ये एक हो । सन् २०२२ मा देशको करिब एक तिहाइ भूभाग डुबानमा परेको विनाशकारी बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।