राजनीति

राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्त्वपूर्ण आवश्यकता : सभापति देउवा

१५ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान समयको महत्त्वपूर्ण आवश्यकता भनेको राष्ट्र र राष्ट्रिय एकता भएको बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले खीर खाने दिनको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले अहिलेको आवश्यकता राष्ट्रिय एकता र राष्ट्रको सार्वभौम सत्ता भएको बताए ।

“राष्ट्र र राष्ट्रिय एकतालाई स्थायी बनाउनु सबै राजनीतिक दलको कर्तव्य हो”, उनले भने । सभापति देउवाले अहिले देशको आवश्यकता भनेको संविधानअनुसार सबै पार्टीबीचमा एउटा सहमति गरेर अगाडि बढ्नु भएको बताए ।

संविधानलाई स्थायीरूपमा अगाडि बढाउन हाम्रा कमी कमजोरी सुधार गर्नुपर्ने प्रशस्त ठाउँहरू भएको उनको भनाइ थियो । “अहिलेको महत्त्वपूर्ण कुरा राष्ट्र र राष्ट्रिय एकता हो, राष्ट्रको सार्वभौम सत्ता हो । यसलाई स्थायी बनाउने हाम्रो कर्तव्य हो, यसमा हामी सबै लाग्नुपर्छ”, सभापति देउवाले भने । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायी रूपमा सुदृढ गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले आफ्नो सरकारको पालामा गरेका राम्रो कामलाई जनतामाझ लैजान सके आगामी निर्वाचनमा झन् राम्रो नतिजा हासिल गर्न सकिने बताए ।