राजनीति

गठवन्धन र एमालेबीच सहमति नभएपछि प्रतिनिधिसभा बैठक स्थगन

१६ साउन, काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक यहि साउन २२ गतेसम्मका लागि स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक नियमित सञ्चालनका लागि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख राजनीतिक दलका सचेतकहरुलाई आग्रह गरे पनि सहमति जुट्न सकेन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले यहि साउन ३ गते सिनामङ्गलबाट बरामद भएको सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षका मुख्य सचेतकले बैठक सञ्चालन गर्न आग्रह गरेका थिए भने विपक्षी दलका प्रमुख सचेतकले उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए ।

सो विषयमा सहमति नभएपछि सभामुख घिमिरेले बैठक स्थगित भएको सूचना प्रकाशित गरेका हुन् । विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले अर्को मिति तय गरिएको सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिनको १ बजे बस्नेछ ।