राजनीति

सरकारले विश्वासको मत प्राप्त गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा

१६ साउन, मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनमा विश्वासको मतका लागि कुनै समस्या नहुने बताए । मुख्यमन्त्री थापाले विश्वासको मतका लागि कुनै शङ्का उपशङ्का नगर्न आग्रहसमेत गरे ।

उनले सभामुखले राजीनामा दिएपछि प्रदेशसभा उपसभामुखले सञ्चालन गर्ने भएकाले बहुमत सदस्यको समर्थन आफूलाई रहेको प्रष्ट पारे । उनले वर्तमान गठबन्धन सरकार चार वर्ष सञ्चालन हुनेमा ढुक्क रहन र जनताको समृद्धिमा सरकारले कार्य गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री थापाले प्रदेशमा राजनीतिक गणितका कारण अस्थिरता रहेको चर्चा गर्दै मुख्य चुनौती भनेको दलभित्र बहुमत नरहनु नै समस्या रहेको विचार राखे । उनले भने, “प्रदेशमा नौ जना मन्त्री नियुक्त गर्ने जानकारी दिँदै मन्त्रीमा नयाँ र पुराना अनुहार रहने छन् ।”