राजनीति

निःस्वार्थरुपमा गरिएको राजनीतिले आर्थिक उन्नति गतिशील बनाउँछ : बिजुक्छेँ

१६ साउन, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले निःस्वार्थरुपमा गरिएको राजनीतिले देशको आर्थिक उन्नति गतिशील बनाउने बताएका छन् ।

आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको २५औँ वार्षिकोत्सवको अवसरमा उनले राज्यको उन्नति एवं प्रगतिमा राजनीतिले मुख्य भूमिका खेल्ने बताए ।

विद्यार्थीले अध्ययन सँगसँगै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिको विषयमा पनि चासो राखी देश र समाजको निःस्वार्थ सेवा गर्ने भावनाले अगाडि बढ्नुपर्ने औँल्याउँदै उनले विद्यार्थी जीवनदेखि विद्यार्थीलाई असल राजनीति गर्नतर्फ उत्प्रेरित गर्दै लैजानुपर्ने बताए ।

अध्यक्ष बिजुक्छेँले देश विदेशको भूगोल अध्ययनले विद्यार्थीमा व्यापक दृष्टिकोणको विकास हुने बताउँदै किताबी ज्ञानमा मात्र भर नपरी विभिन्न अध्ययन अनुसन्धानबाट नयाँनयाँ कुरा पत्ता लगाउनेतर्फ विद्यार्थीको चासो राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन ढिलाइ गर्न नहुने बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन गरी विद्यार्थीलाई नयाँनयाँ विषयमा अध्ययन अनुसन्धान गराउने लक्ष्य रहेको बताए ।

शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक भागबण्डाकै कारण देश लथालिङ्ग अवस्थामा पुगेको बताउँदै उनले सरकारले युवालाई विदेशी भूमिमा सस्तो ज्यामी बनाउन लिएको नीतिको सबैले विरोध गर्नुपर्ने बताए ।