राजनीति

माओवादीले ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’को सन्देश घर-घरमा पुर्‍याउने

२१ साउन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्नका लागि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । यही साउन १७ गतेदेखि राजधानीमा सुरु भएको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित तीनमहिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियान आगामी भदौ १६ गतेदेखि देशभरका सम्पूर्ण वडामा एकसाथ सुरु हुनेछ । अभियानलाई प्रभावकारी बनाउन आगामी भदौ १५ गतेसम्म प्रदेश, जिल्ला, पालिका, वडा बैठकबाट कार्ययोजना निर्माण गरिने माओवादीले जनाएको छ । आगामी कात्तिकसम्म अभियान चल्नेछ ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइने माओवादीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कामय तथा सेवा प्रवाहमा जनअपेक्षाअनुसार काम गर्दै आएको छ । सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको छ ।

अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्‍याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने छ ।

माओवादीले आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारले कम्तीमा एक/एकवटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने, सङ्घीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम सातवटै प्रदेशमा एक÷एकवटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ ।

अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरिनेछ । उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकी पठाइनेछ ।

पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकार सदस्यको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारी सम्मिलित पालिकास्तरको टोली निर्माण गरी वडा केन्द्रित अभियान टोली सञ्चालन गरिने माओवादीले जनाएको छ । अभियान टोलीले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्नेछ ।

अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने छ ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक सङ्घसंस्थाहरूसँग अन्तरक्रिया गरिनेछ । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभाहरू गरिने प्रवक्ता महराले जानकारी दिए ।

माओवादीले अभियानलाई सफल बनाउन प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ‘प्रचण्ड’सहित सरकार तथा अन्य जिम्मेवारीमा रहेका सबै पदाधिकारीले कम्तीमा एक/एक वडाको जिम्मेवारी लिनुपर्ने नीति लिएको छ । केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले आफूले सातै प्रदेशका एक÷एक गरी सात वडाको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

माओवादीले अभियान सञ्चालनका लागि सबै पदाधिकारीको कार्यविभाजन गरी प्रदेश संयोजक तोकेको छ । कोशीमा चक्रपाणि खनाल, मधेशमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव, सुदूरपश्चिममा डिलाराम आचार्य, सम्पर्क समन्वयमा गिरिराजमणि पोखरेल, उपत्यका विशेषमा वर्षमान पुन र प्रवास प्रदेशमा राम कार्कीलाई संयोजक तोकिएको छ ।

समाजवादी मोर्चा र पार्टी एकताको संयोजन कृष्णबहादुर महरा, जनसङ्गठनको समन्वय पम्फा भुसाल, प्रचार विभाग अग्निप्रसाद सापकोटा, विज्ञान–प्रविधि विभाग गणेश साह र बुद्धिजीवी, प्राध्यापक, मानवअधिकार, शिक्षक, मानवअधिकार, कानुन व्यवसायी सङ्गठनको समन्वय दीनानाथ शर्माले गर्ने निर्णय भएको माओवादीले जनाएको छ ।