२७ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन २०८२ को मंसिरभित्र गरेरै छाड्ने दाबी गरेका छन् ।
बुधबार पोखरा महानगरपालिकाको सम्मेलनमा बोल्दै महामन्त्री थापाले यसपटक विधानले तोकेको समयभन्दा पछि नसर्ने दाबी गरेका हुन् । “२०८२ मा महाधिवेशन गर्नैपर्छ । २०८२ सालको मंसिर उता महाधिवेशन एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन । जान दिइन्न”, उनले भने ।
२०८२ वैशाखअघि नै क्रियाशील सदस्यता टुंग्याउने महामन्त्री थापाले दाबी गरे । महाधिवेशन हुने वर्षमा नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण नहुने भन्दै उनले अघि भने, “क्रियाशील सदस्यता टुंगाउन म संयोजक हुँ । सबैले काम गरेर अधिवेशन गराउने हो ।”
टिकट वितरण गर्ने अधिकार क्रियाशील सदस्यलाई नहुँदा पार्टीमा गुटको राजनीति हुने गरेको उनको भनाइ छ । कांग्रेसको विधानमा पार्टीको महाधिवेशन चार वर्षभित्र गर्ने व्यवस्था गरिएको छ । २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकाले १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्छ ।





