७ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा कल्पना गरेअनुसारको कानुन संघीय सरकारले नबनाउँदा प्रदेश सरकारले चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको बताएका छन् ।
आइतबार कांग्रेस केन्द्रीय समितिमा बोल्दै मुख्यमन्त्री पाण्डेले भने, “म मुख्यमन्त्री छु, मैले चाहेर पनि गर्न सक्ने अवस्था धेरै छैन । संविधानमा जे कल्पना गर्यौं, त्यो अनुसार कानुन बनाउन सकेनौं बनाउने रुचि पनि देखाएका छैनौं ।”
३ वटा कानुन बन्दैन भने प्रदेश सरकारको औचित्य पनि नहुने भन्दै उनले अघि भने, “एउटा, प्रदेश समायोजन सम्बन्धी व्यवहारमा लागू गरिएन भने, दोस्रो, संघीय निजामती ऐन ब्यवहारमा ल्याइएन भने र तेस्रो जग्गा प्राप्तिको अधिकार प्रदेश सरकारले प्राप्त गर्न सक्दैन भने प्रदेश सरकारले हामीले कल्पना गरेजस्तो काम गर्न सक्ने अवस्था रहँदैन ।”
उनले कांग्रेसले संविधानमा उल्लेख भएर मात्र संघीयतालाई आत्मसात गरेको हो वा यसलाई लागू गर्ने दृढ इच्छाशक्ति पनि छ भनेर प्रश्न गरेका हुन् ।





