राजनीति

कांग्रेस सबै जातजाति, धर्म र समुदायको प्रतिनिधित्व गर्ने राष्ट्रिय चरित्रको पार्टी : महामन्त्री थापा

७ असोज, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी सबै जातजाति, धर्म र समुदायको प्रतिनिधित्व गर्ने राष्ट्रिय चरित्रको पार्टी भएको बताएका छन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उनले पार्टी र सरकारमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी काम गर्ने विश्वास दिलाए ।

उनले हाम्रो समाजमा परापूर्व कालदेखि नै साम्प्रदायिक सद्भाव रहेको उल्लेख गर्दै यसमा कहीँ कसैले खलबल्याउने नियोजित प्रयास गरे त्यसप्रति सबै एकजुट भएर सचेत हुनुपर्ने बताए ।

साथै उनले सङ्घले महाधिवेशनमा छलफल गरी पारित गरेका मागका विषयले पार्टीको महासमिति बैठकमा प्रवेश पाउने विश्वास समेत दिलाए । कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले संविधानअनुसारको समानुपातिक प्रतिनिधित्व कार्यान्वयन गराउन माग गरे ।

सङघका कार्यवाहक अध्यक्ष अताबुल मन्सुरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कांग्रेस केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, अब्दुल रज्जाक, अब्दुल सत्तारलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । महाधिवेशनमा देशभरका सङ्घका ४३ जिल्ला समितिबाट चार सय ७३ प्रतिनिधिको सहभागिता रहेको छ भने सोमबार ८६ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन प्रक्रिया हुने बताइएको छ ।