राजनीति

संविधान दिवशमा जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिन बन्द गरौं : रास्वपा

१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान दिवशका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा आपत्ति जनाएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले भने, “नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा, संविधान जसलाई लिएर यो देशले आशा, भरोसा गरेको छ । त्यतिधेरै लगानी गरेर हामीले संविधान बनाएको दिनको मौका छोपेर जुन काम सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट हुन गयो राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको घोर विरोध गर्न चाहन्छ ।”

जनताले खुशी मनाउने दिनमा जघन्य अपराध गर्ने व्यक्तिलाई उन्मुक्ति दिने प्रणालीको अन्त्य गर्न पनि माग सभापति लामिछानेले गरे । उनले अघि भने, “जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुशियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली बन्द गर्न म जोडदार माग गर्दछु ।”