राजनीति

मुलुकको विकासका लागि स्वदेशमै रोजगारी सिर्जना आवश्यक : अध्यक्ष नेपाल

१५ असोज, सप्तरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । सो पार्टीले सुरु गरेको मेची-महाकाली समाजवादी जागरण अभियानअन्तर्गत आज सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा उनले देशमा बेरोजगारी अन्त्य गरी युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

मधेसमा कलकारखाना खोलेर युवाशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सके मुलुकमा समृद्धि हासिल हुने उनको भनाइ छ । एकीकृत समाजवादी पार्टी जनताको अधिकारका लागि लड्दै आएको भन्दै अध्यक्ष नेपालले बेरोजगारीका कारण ऊर्जामान युवाशक्ति विदेश जान बाध्य भएको बताए । देशभित्रै रोजगारी सिर्जना गर्न सके गरिबी अन्त्य हुने भएकाले त्यसतर्फ सरकारले काम गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्नेमा जोड दिए । उनले महिला, दलित, मधेसी, थारु, आदिवासी जनजाति र पिछडा वर्गको हितमा आफ्नो पार्टी सङ्र्घषरत रहेको समेत बताए । भ्रष्टाचारको अन्त्य नभएसम्म मुलुकको विकास नहुने भन्दै उनले लोकतन्त्रको रक्षा गर्न सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुको विकल्प नभएकोमा जोड दिए ।