राजनीति

मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

१६ असोज, काठमाडौँ । सङ्घीय संसद प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद उदय शमशेर जबराले चाडबाडको समयमा उपभोक्ता बजारमा मूल्यवृद्धि देखिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण र नियमनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

“पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारले फिर्ता लिएको छ । त्यो सकारात्मक छ । तर पछिल्लो तीन महिनामा महङ्गी अत्यन्त बढेको छ”, उनले भने, “चाडबाडको समयमा बजारमा गोलभेडा, चिनी, चामलजस्ता उपभोग्यवस्तुमा मूल्यवृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायतका बजारमा कालोबजारी र कृत्रिम अभावका समस्या देखिएका छन् ।” बजार अनुगमन प्रभावकारी बनाउन उनले संसदमार्फत् सरकारको ध्यानाकर्षण गरे ।

सांसद उर्मिला माझीले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता गरेर जनतामा राहतको महसुस गराएको बताए । सबै उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै उनले यसको मुख्य कारण कालोबजारी र कमिसनतन्त्र रहेको बताए । बजार अनुगमनका लागि उच्चस्तरीय संयन्त्र बनाउपर्ने उनको माग छ ।