अन्तर्राष्ट्रिय

पाकिस्तानबाट निर्वासित अफगान शरणार्थीद्वारा परिवारका थप सदस्य स्वदेश आउन नसकेको दाबी

२५ कात्तिक, काबुल । पाकिस्तानबाट निर्वासित गरिएका सात हजार भन्दाबढी अफगानी शरणार्थीले आफ्ना परिवारका सदस्य विदेशमा नै रहेको बताएको टोलो न्युजले रिपोर्ट गरेको छ । टोलो न्युज काबुलबाट प्रसारण हुने अफगानी समाचार संस्था हो ।

महिला तथा बालबालिकासहित निर्वासित शरणार्थीहरूले अझै पनि पाकिस्तानमा आफ्ना परिवारको अवस्थाको बारेमा कुनै पनि जानकारी नभएको टोलो न्युजलाई बताएका हुन् ।

निर्वासित शरणार्थीमध्येका एक जना नुर मोहम्मदले भने, “कुरान कण्ठ गर्ने मेरा छोराहरू बाहिर जाँदै गर्दा धार्मिक विद्यालयका विद्यार्थीहरूलाई सीमामा ल्याएर निष्कासन गरे । 

उनीहरू घर आई हाम्रो सामानहरू लिएर गाडीमा फ्याँक्दै थिए, जुन क्रूरताको सुरुवात थियो, र हामी एकान्त गल्लीमा एक्लै बस्न सक्दैनौं,” टोलो न्यूजका अनुसार अर्का शरणार्थी अब्दुल्लाले भने । 

पाकिस्तानबाट अफगानी शरणार्थीहरूलाई जबरजस्ती देश निकाला गर्न थालेपछि स्पिन बोल्दाक नाकाबाट पचास हजारभन्दा बढी अफगानीहरू स्वदेश फर्किएका छन् ।

पाकिस्तानबाट फर्किएका शरणार्थीहरूको मामिलालाई व्यवस्थित गर्ने समितिका प्रमुख अगाजान सालेमले भने, “यो समिति यहाँ गठन भएको हो, यससँगै शरणार्थीहरुलाई सबै प्रकारको सहयोग उपलब्ध गराउँछौँ र उनीहरुलाई आवतजावतको व्यवस्था मिलाउँछौँ ।”

कान्दाहारको स्पिन बोल्दाक जिल्लामा फर्किएका आप्रवासीहरूको स्वागत केन्द्रको जानकारीअनुसार, पाकिस्तानी सेनाको दबाब र दुब्र्यवहारका कारण निर्वासित धेरै शरणार्थी मानसिक रोगबाट ग्रस्त छन् ।