राजनीति

एमालेको सङ्कल्प यात्रा सफल

झापा २ पुस – नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राले लोकतन्त्र र समृद्धिको पक्षमा राष्ट्रिय एकताको बलियो सन्देश प्रवाहित गरेको बताएका छन् ।

प्रेस चौतारी झापाद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेको यो यात्रा सफल भएको बताए ।

“यो यात्रा कसैका विरुद्ध थिएन,” उनले भने, “आम जनताले यात्राका क्रममा देखाउनुभएको अपार सहभागिताले मध्यपहाडी पुष्पलाल लोकमार्ग आसपासका बासिन्दा विकास र रोजगारी चाहन्छन् । तमाम बेथितिको अन्त्य चाहन्छन् भन्ने स्पष्ट भएको छ ।”

सङ्कल्प यात्राका क्रममा मध्यपहाडी जनताको चाहना बुझ्ने र उनको सुझाव लिने एमालेको लक्ष्य पुरा भएको जनाउँदै उनले जनता एमालेप्रति आशा, भरोसा र सद्भाव बढेको दाबी गरेका छन् ।

रोजगारी र विकासको अभावमा पहाडका जनता गाउँ रित्याएर बसाइँ सरिरहेको देखिएको हुँदा अब पहाडमा के कस्तो विकास चाहिन्छ भन्ने विषयमा एमालेले यात्राबाट यथार्थ जानकारी हासिल गरेको उनले बताए ।

सङ्कल्प यात्रामा आम जनतासँगै सुरक्षाकर्मी र अन्य राजनीतिक दलबाट समेत राम्रो सद्भाव प्राप्त भएको उनको भनाइ थियो । उनले सोचेभन्दा राम्रो उपलब्धि भएको धारणा व्यक्त गर्दै सङ्कल्प यात्राबाट प्राप्त अनुभवका आधारमा निकट भविष्यमा एमालेले आगामी दिनमा गर्नुपर्ने कार्यको व्यवस्थित विवरण सार्वजनिक गर्ने जानकारी दिएका छन् ।