राजनीति

एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक छ : प्रधानमन्त्री दहाल

३ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिदबिक्री अस्वाभाविक रहेको बताएका छन् । मङ्गलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले एनसेलको वैदेशिक लगानी शेयर खरिदबिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन भइरहेको जानकारी गराए।

उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाए ।

‘‘एनसेलको वैदेशिक लगानी शेयर खरिदबिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन समेतको कार्य गरिरहेका छौँ । अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।,’’ उनले भने, ‘‘यस प्रकरणमा कतै, कसैबाट कानून विपरितका काम कारबाही भए गरेको पाइएमा जुन सरकारलाई सहज नलागेकै हुनाले मैले शुरुमै निर्देशन जारी गरेको हो, सहज र स्वभाविक छैन भन्ने देखिएको हुनाले नै निर्देशन जारी गर्नुपरेको हो ।’’

प्रधानमन्त्रीले एनसेल प्रकरणमा कतै, कसैबाट कानुन विपरितका काम कारबाही भए गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘‘यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकैले छानबिन समिति बनाइएको हो । यसमा कहीँ कतैबाट कानुन विपरितका काम कारबाही भए, गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ ।’’

प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर खरिदबिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पारे ।