अन्तर्राष्ट्रिय

गाजामा ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ कर्मचारी मारिएः महासचिव गुटेरेस

७ पुस, काठमाडौँ । इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले बताएको छ ।
गुटेरेसले विश्व सङ्गठनको लामो इतिहासमा यसका कर्मचारीको यति ठ्लो हताहतको संख्या अहिलेसम्म कहिल्यै नभएको बताएको छ ।

“गाजामा हाम्रा १३६ जना सहकर्मीहरू ७५ दिनमा मारिएका छन् – जुन हामीले संयुक्त राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका थिएनौ । हाम्रा अधिकांश कर्मचारीहरूलाई उनीहरूको घरबाट जबरजस्ती भगाइएको छ,“ महासचिव गुटरेसले ट्विटरमा लेखेका छन् ।

“म ती व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु“ उनले लेखेका छन् ।
गत अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी द्वन्द्वमा हजारौ सशस्त्र र निहत्था जनताको ज्यान गएको छ । करिब २ हजार ५०० आतङ्ककारीहरूले गाजा पट्टीबाट इजरायलतर्फको सीमा तोडेर सयौंको हत्या गर्दै थुप्रै व्यक्तिहरूलाई कब्जामा लिएपछि इजरायल–हमास द्वन्द्वले चरम ध्वंसात्मक रूप लिएको छ ।

त्यस आक्रमणपछि इजरायलले हमासको पूर्वाधारलाई लक्षित गरी सम्पूर्ण आतङ्ककारी समूहलाई नष्ट गर्ने भन्दै आक्रमणलाई तिरन्तरता दिएको छ । इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले गाजा शहरको शेजैया छिमेकमा पुर्ण “सञ्चालनात्मक नियन्त्रण“ स्थापना गरेको बताएको छ जसले हमास विरुद्धको भूमि आक्रमणका क्रममा भीषण लडाइँको सामान गरिरहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ

आइडीएफले विज्ञप्ति जारी गर्दै ३६ औं डिभिजनले शेजैयामा हमासको “मुख्य बल“ ध्वस्त पारेको बताएको छ। सेनाले हमासको पूर्वाधार नष्ट गर्न निरन्तरता दिने पनि उल्लेख गरेको छ ।

आईडीएफका अनुसार घर, विद्यालय, स्वास्थ्य क्लिनिकमा भेटिएका दर्जनौं टनेल शाफ्टहरू नष्ट गरिएका छन् । गोलानी ब्रिगेडका सेनाले हमासका वरिष्ठ सदस्यहरूको घरमा छापा मारेको र शेजैयामा गुप्तचर सामग्रीहरू कब्जा गरेको आईडीएफले जनाएको छ ।

यसअघि आईडीएफले केन्द्रीय गाजा पट्टीमा आफ्नो ग्राउन्ड अपरेशनहरू विस्तार गरेको बताएको थियो ।