राजनीति

संसद्को एक वर्षको अभ्यासबाट म सन्तुष्ट छैन – सांसद श्रेष्ठ

९ पुस,काठमाडौँ । “मेरो संसद् प्रवेशको एक वर्षे कार्यकालमा जनतासँग बाचा गरेका योजना कार्यक्रम यति गरेँ भनेर म सन्तुष्ट छु भन्ने ठाउँ छैन”, सांसद शान्ति श्रेष्ठले भने, “आफैँले आफैँलाई समीक्षा गर्नुपर्दा मेरो संसद्को वर्षदिनको अभ्यासमा मैले जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ, त्यसैले जनतासँग माफी माग्नैपर्छ ।”

सांसद श्रेष्ठलाई जस्तै धेरै सांसदलाई यस्तो पछुतो लागेको छ । किनकी सङ्घीय संसद्को एक वर्षको अवधिमा सांसदले जनतामाझ गरेका वाचा र मुलुकको आवश्यकताका खातिर गर्नुपर्ने काम, बन्नुपर्ने कानुन र हुनुपर्ने विकास निर्माणका काम सांसदकै भनाइमा हुन सकेका छैनन् । उनीहरुकै शब्दमा अतिआवश्यक ऐन, कानुन बन्न विलम्ब भएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा आशातित परिणाम देखिएको छैन ।

यद्यपि, मुलुकको आर्थिक समृद्धि, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण र जनताको सेवालाई चुस्त र प्रभावकारी बनाउने महाभियानमा वर्तमान सरकार लागिपरेको छ । हुनतः जादुको छडीझैँ चमत्कार भइहाल्छ भन्ने पनि छैन । सांसद श्रेष्ठले पनि हिम्मत हारेकी छैनन् ।

मडारिएको बाँदलभित्र चाँदीको घेराझैँ नेपालभित्र क्षितिजमा सम्भावना पनि प्रशस्तै छन् । चुनौतीका चाङलाई सामना गरेर समृद्धिको जनआकाङ्क्षा पूरा गर्नेतर्फ लाग्नु सरकार, राजनीतिक दल, नेता र आमजनताको सामूहिक राष्ट्रिय दायित्व र अपरिहार्यता पनि हो ।

यिनै जिम्मेवारीबोधका साथ सांसदले आगामी दिनमा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको सांसद श्रेष्ठले बताए ।