११ पुस, पाकिस्तान । पाकिस्तानको सर्वोच्च अदालतले गत साता गोप्य कागजातसम्बन्धी मुद्दामा जमानत पाएका पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई० का उपाध्यक्ष शाह महमूद कुरेशीलाई बुधबार अडियाला जेलबाहिर पुनः पक्राउ गरिएको छ ।
प्रहरीले पीटीआई नेतालाई हिरासतमा लिनुको कारण भने खुलाएको छैन । पाकिस्तान तेहरीक–ए–इन्साफले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा एक पोस्ट सार्वजनिक गर्दै कुरेशीलाई गोप्य कागजातसम्बन्धी मुद्दामा जमानतमा रिहा भएपछि फेरि अडियाला जेल बाहिरबाट गिरफ्तार गरिएको पुष्टि गरेको छ ।
यसअघि, रावलपिण्डीका डेपुटी कमिस्नरले सार्वजनिक व्यवस्थामा खलल पु¥याएको अभियोगमा जारी गरिएको हिरासत आदेश फिर्ता लिनुभएको पोस्टमा उल्लेख छ । पीटीआईले कुरेशीलाई जेलबाहिर, यसको परिसरभित्रबाट दुर्व्यवहार गरिएको फुटेज पनि सार्बजनिक गरेको छ । कुरेशीलाई बख्तरबन्द प्रहरीको गाडीमा हाली हिरासतमा लगिएको थियो । पक्राउपछि गाडीमा राख्दै गर्दा कुरेशीले प्रहरीले अदालतको आदेशको उल्लङ्घन गरेको बताएका थिए ।
उनले भने, “उनीहरू (प्रहरी)ले मलाई फेरि झुटो मुद्दामा पक्राउ गरिरहेका छन् । मैले राष्ट्रको प्रतिनिधित्व गरेको हो । म निर्दोष छु र मलाई बिनाकारण राजनीतिक प्रतिशोधका लागि निशाना बनाइँदैछ ।” यसअघि शुक्रबार सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनका निकट सहयोगी कुरेशीलाई १०–१० लाख भारु बराबरको जमानत पेश गर्न आदेश दिएको थियो ।
कुरेशीकी छोरीले अन्य कुनै पनि मुद्दामा पक्राउ नपरेकाले आफ्ना बुबालाई रिहा गर्ने अपेक्षा गरेको बताएका छन् । कुरेशीको परिवार उनको जमानत रकम तिर्न अदियाला जेल पुगेको थियो तर रोबकर (रिहाई आदेश) प्राप्त गर्नुअघि रावलपिण्डीका डेपुटी कमिस्नर (डीसी) हसन वकार चीमाले पूर्व विदेशमन्त्रीलाई सार्वजनिक व्यवस्था कायम गर्नका लागि व्यवस्था गरिएको धारा ३ अन्तर्गत १५ दिन हिरासतमा राख्न आदेश जारी गरेको खुलासा भएको छ ।
पीटीआईले सामाजिक सञ्जालमा कुरेशीलाई हिंसात्मक तरिकाले पक्राउ गरिएकोे भन्दै कडा निन्दा गरेको छ । “सर्वोच्च अदालतले शाह महमुद कुरेशीलाई जमानत दिएपछि उनको लज्जास्पद गिरफ्तारी न्यायपालिका र न्याय प्रणालीको मुखमा झापड हो,” पीटीआईले भनेको छ । पार्टीले इमरान खान र राष्ट्रबीचको सम्बन्ध तोड्न असफल भएको भन्दै राज्यले क्रूरताको सबै सीमा पार गरिरहेको बताएको छ ।