१४ पुस, काठमान्डौं । पाकिस्तानी सुरक्षा बलले आदिवासीको घनत्व रहेको उत्तरी वजिरिस्तान जिल्लामा गरेको कारबाहीका क्रममा पाँच जना आतङ्ककारी मारिएको जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै सुरक्षा बलले उत्तरपश्चिमी खैबर पाकिस्तानको उत्तर वजिरिस्तानको मीर अली क्षेत्रमा गोप्य सूचनाका आधारमा कारबाही सञ्चालन गरेको बताएको छ ।
सो क्रममा दोहोरो गोली हानाहान भएको र आतङ्कारीका कमाण्डर रहजेब उर्फ खोरे सहित अन्य आतङ्ककारी मारिएको बताइएको छ ।
आईएसपीआरका अनुसार आतङ्ककारीहरू सर्वसाधारण र सुरक्षा बलमाथि आक्रमणमा संलग्न रहेको र नागरिकहरूबाट पैसा असुली गर्ने काममा समेत संलग्न तहेको बुझिएको छ । कारबाहीका क्रममा आतङ्ककारीहरूबाट हातहतियार र गोलाबारुद पनि बरामद भएको आईएसपीआरले जनाएको छ ।