राजनीति

गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक छ : गगन थापा

१५ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गुणस्तरीय पर्यटक भित्र्याउने गरी कार्ययोजना तयार गर्न आवश्यक रहेको बताउनुभएको छ ।ठमेल पर्यटन विकास परिषद्को आयोजना नयाँ वर्ष २०२४ को स्वागतार्थ आज साँझ ठमेलमा आयोजित ‘सडक महोत्सव’को उद्घाटन गर्दै उहाँले पर्यटकको बसाइ लम्ब्याउने र बढी खर्च गर्ने पर्यटक भित्र्याउने गरी कार्ययोजना बनाउनुपर्ने बताएका हुन् ।

“पर्यटकको बसाइ लम्ब्याउन र खर्च बढाउन जरुरी छ, पर्यटक प्रवद्र्धन गर्ने गरी कार्ययोजना बनाउनुपर्छ,” उनले भने । महामन्त्री थापाले थला परेको नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समय केही आशा जागेको उल्लेख गरे ।

सांसद शिशिर खनालले कोरोनापछि सुस्ताएको नेपालको पर्यटन क्षेत्रले पछिल्लो समय आशा जगाएको बताउँदै यसलाई निरन्तरता दिनेगरी कार्ययोजना बनाउन आवश्यक रहेको उल्लेख गरे ।

सांसद गोकर्ण विष्टले भारत र चीनका पर्यटकलाई भित्र्याउने सकेमात्र पनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने बताए । सांसद माधव सापकोटाले पर्यटन क्षेत्रको समग्र विकासका लागि दलहरुबीच एकताबद्ध हुन आवश्यक रहेको बताए ।

मुख्यसचिव बैकुण्ठ अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायतले पर्यटन क्षेत्रको विकास र हवाई क्षेत्रको विकासका लागि सरकारले आगामी दिनमा कार्ययोजना बनाएर अगाडि बढ्ने उल्लेख गरे । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको पर्यटन विकासका लागि परिषद्ले लामो समयदेखि काम गर्दै आएको उल्लेख गरे ।