राजनीति

सुपबाट राष्ट्रियसभामा नाउपाले एक सिट पाउछ: रेशम चौधरी

१८ पुस, धनगढी । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नागरिक उन्मुक्ति पाटीले एउटा सिट पाउने समझदारी भइसकेको पार्टीका संरक्षक रेशमलाल चौधरीले बताएका छन् ।

कैलालीको भनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संरक्षक चौधरीले उक्त कुरा जानकारी गराएका हुन् । त्यसबारे पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गर्ने चौधरीले जानकारी गराए ।

राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ । त्यसअघि नै सत्ता गठबन्धनबीच समझदारी कायम गर्न शीर्ष नेताहरुबीच छलफल हुँदै आएको छ ।

बुधबार पनि बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धनका नेताहरुसँग छलफलमा बसेका बेला नाउपाका संरक्षक चौधरीले आफ्नो पार्टीलाई एक सिट दिने समझदारी सत्ता गठबन्धनमा भइसकेको बताएका हुन् ।

यही पुस २६, २७ र २८ गते टीकापुरमा हुने पार्टीको प्रथम महाधिवेशनबारे जानकारी दिन चौधरीले पत्रकार सम्मेलन गरेका थिए ।