राजनीति

सबै राष्ट्रिय शक्ति गोलबद्ध हुन जरुरी छ : एमाले उपाध्यक्ष पोखरेल

२१ पुस, काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय स्वार्थका विषयप्रति स्पष्ट हुनुपर्ने बताएका छन् । ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको ३६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकीसँग आँखा जुधाएर कुरा गर्ने सामार्थ्य राख्नुपर्नेमा पनि जोड दिए ।

पोखरेलले भू–राजनीतिक संवेदनशीलताका कारण नेपाल धरै किसिमका सङ्कट झेल्नका लागि बाध्य बनेको धारणा राखे । “विभिन्न खाले सङ्कट समाधानका लागि राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता छ । राष्ट्रिय शक्ति एकताबद्ध भएर मात्रै भू–राजनीतिक संवेदनशीलताबाट सिर्जित समस्यासँग हामी जुध्न सक्छौँ र राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र अखण्डताको रक्षा गर्न सक्छौँ”, उनले भने ।

सामाजिक सद्भावमा राष्ट्रिय एकता टिकेको भन्दै सामाजिक सद्भाव खलबलियो भने राष्ट्रिय एकता कमजोर र स्वाधिनतामा आँच पुग्ने उनको भनाइ छ ।
सोही अवसरमा पोखरेलले महासङ्घले प्रकाशन गरेको ‘जबजको सौन्र्दय चिन्तन’ नामक पुस्तक विमोचन गरे ।

एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पुस्तकले सांस्कृति क्षेत्रको अन्योललाई चिर्न मद्दत गर्ने बताए । महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले पुस्तकमा जनताको बहुदलीय जनवादले देखाएको मार्गनिर्देशक सिद्धान्तलाई नेपालको परिवेशअनुसार सामाजिक, सांस्कृतिक कोणबाट विश्लेषण गरिएकोे बताए ।