राजनीति

काँग्रेसले राष्ट्रिय सभा उम्मेद्वार सिफारिस गरेकोमा महामन्त्रीद्वय गगन विश्वप्रकाशका यस्ता छन् बिमती

२३ पौस, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र बिश्वप्रकाश शर्माले राष्ट्रिय सभाको निर्बाचनमा उम्मेद्वार छनौट प्रकृयामा असन्तुष्टी जनाएका छन् । महामन्त्री थापाले डा शेखर कोईराला समूहबाट गरेका बिषयहरु र केन्द्रीय कार्य सम्पादन समितिका निर्णयहरु तथा नेता शर्माले केन्द्रीय कार्य सम्पानदन समितिका निर्णयहरुसँग असहमत हुँदै लिखित रुपमा बिमतीहरु राखेका छन् । उनलीहरुले आफुहरुले पार्टीको बहुमतको निर्णय मान्ने बताउँदै असहमती राखेका छन् ।

काँग्रेस महामन्त्री गगन थापाको फरक मत जस्ताको तस्तै

१. हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो । संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।

२. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ । अतः आजको निर्णयप्रती मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।

गगनकुमार थापा

महामन्त्री २०८० पौष २२

काँग्रेस महामन्त्री महामन्त्री शर्माका ६ बुँदे विमति जस्ताको तस्तै….

१. उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग प्रष्ट असहमत

२. संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ?

३. राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?

४. समावेशिताको सिद्धान्त विधानमा कि व्यवहारमा ?

५.नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ? ६. राष्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्विकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।