खेलकुद

मैत्रीपूर्ण खेलमा नेपाली सेना विजयी

३ माघ, काठमाडौँ । मैत्रीपूर्ण खेलमा नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पराजित गरेको छ । २३ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बुधबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाले सशस्त्रलाई २–० को गोलअन्तरले पराजित गरेको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक मैदानमा भएको खेलमा ३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतको सहभागिता थियो । सशस्त्र प्रहरी बल टोलीका कप्तान प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेना टोलीका कप्तान उपरथी सन्तोषकुमार ढकालले एकापसमा मायाको चिनो आदान–प्रदान गर्नु भएको थियो । साथै महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडी, प्रशिक्षक र टिम प्रबन्धकलाई प्रशंसापत्रसमेत प्रदान गरेका थिए ।

शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनलगायतमा समन्वय र सहकार्य गर्दै अगाडि बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरीबीच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगितालगायत अन्य गतिविधिसमेत गरिँदै आएको छ ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानको उपस्थिथि थियो ।