समाचार

एकीकृत समाजवादीको आम्दानी करिब ८ करोड

६ माघ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा ८ करोड ४ लाख ५६ हजार ७ सय ९ भएको छ । पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ ।

सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा ७ करोड ८२ लाख ६८ हजार ८ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रकम बचत भएको छ । चालु आवको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल १ करोड ३२ लाख ४८ हजार सात सय ५६ रकम बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ ।

पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखाप्रमुख पौडेलले जानकारी दिए ।