राजनीति

नेता कार्कीको दाबीः नेपालको अर्थतन्त्र पुरानैलयमा फर्किसक्यो

७ माघ, किमाथाङ्का (सङ्खुवासभा) । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्रले गति लिइसकेको बताए । प्रेस युनियन सङ्खुवासभाले आज खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको अर्थतन्त्र पुरानैलयमा फर्किसकेको दाबी गरे ।

विश्वभर कोरोनापछि तहसनहस भएको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै गरेको भन्दै वर्तमान सत्तागठबन्धन सरकारले अर्थतन्त्र लयमा फर्काउन काम गरिरहेको पूर्वअर्थमन्त्री कार्कीको भनाइ थियो । अर्थतन्त्रका सूचक सकारात्मक भएकाले यसलाई गतिदिन साधन, स्रोत र सम्भावनालाई केन्द्रमा राखेर सरकारले अग्रसरता दिइरहेको उनले बताए ।

“एमसिसी नेपाललाई प्राप्त भएको सहायता हो”, नेता कार्कीले भने, “यो पाँच वर्षमा सम्पन्न गर्नुपर्दछ । विद्युत्को क्षेत्रमा एमसिसी कोशेढुङ्गा सावित हुनेछ ।” व्यापार घाटालाई न्यूनीकरण गर्न र देशलाई समृद्ध गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाले देशको अर्थतन्त्रमा टेवा पु¥याउने बताउँदै उनले सबैभन्दा पहिला जिल्लावासीले लाभ लिनुपर्ने धारणा राखे ।

फरक प्रशङ्गमा कांग्रेस नेता कार्कीले राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरे । राष्ट्रियसभा निर्वाचनको सन्दर्भलाई लिएर नेता कार्की कार्यकर्तासँग भेटघाट गर्न कोशी प्रदेशका जिल्ला सोलुखम्बु, खोटाङ, भोजपुर हुँदै हिजो बेलुकी सङ्खुवासभा आइपुगेका हुन् ।