समाचार

स्वयम्भूको एक घरमा फेला परेको शवको पहिचान खुल्यो

७ माघ, काठमाडौँ । यही माघ ३ गते काठमाडौँ महानगरपालिका–१५ शोभाभगवतीस्थित सरिता गिरिको घरमा सढेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी स्वयम्भूमा सडेको अवस्थामा फेला परेको शव तनहुँ भीमादकी ५१ वर्षीय सफिना मियाको भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले स्वयम्भूस्थित गिरिको घरको भुईं तल्लामा भेटिएको शव मियाको भएको पुष्टि गरे । “मियाको हत्याको आशङ्कामा भारत दरभङ्गाका ४३ वर्षीय इकरामूल हक अन्सारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ”, उनले भने । अन्सारी र मिया विगत एक वर्षदेखि सँगै बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दुईजनाबीच वादविवाद हुँदा हत्या भएको खत्रीले बताए ।

प्रहरीप्रमुख खत्रीले घरमा बस्ने व्यक्तिको विस्तृत विवरण घरबेटीसँग नहुँदा अनुसन्धानमा समस्या परेको भन्दै आगामी दिनमा यस्ता कुरामा ध्यान दिन सबैलाई आग्रहसमेत गरे । मिया विगत तीन महिनादेखि नै कोठामा मृत रहेको अनुमान प्रहरीले गरेको छ ।