खेलकुद

यु–१९ विश्वकप क्रिकेट : नेपालद्वारा पाकिस्तानसामु १९८ रनको लक्ष्य

१० माघ, काठमाडौँ । आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा नेपालले पाकिस्तानसामु जितका लागि एक सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गरेको हो । निर्धारित ५० ओभरमा सवै विकेट गुमाउदै नेपालले एक सय ९७ रन बनायो । नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीपक डुम्रेले ५८ बल खेल्ने क्रममा एक छक्कासहित २६ रन बनाए । कप्तान देव खनालले ३७ बलमा तीन चौकासहित २३, गुल्शन झाले १८, सुवास भण्डारीले २०, आकाश चन्दले अविजित १६, दिपेश कँडेलले १३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६/६ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले तीन, उबैद शाह र अहमद हुसैनले दुई दुई तथा अली असफन्ड, खुबैब खलिल र मोहम्मद जिशनले एक एक विकेट लिए ।

प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई एक सय ८१ रनले हराएको थियो । पाकिस्तानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।