समाचार

स्वास्थ्य बीमाबारे पर्याप्त जानकारी भएनः सभामुख घिमिरे

१२ फागुन, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमाबारे राजनीतिक दल, जनप्रतिनिधि र नागारिकमा पर्याप्त जानकारी पुग्न नसकेको बताएका छन् ।

आज राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा संसद् भवन बानेश्वरमा आयोजना गरेको ‘नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा उहाँले स्वास्थ्य बीमालाई ठीक ढङ्गले परिचालन गर्ने कुरामा जननिर्वाचित प्रतिनिधिलाई नै जानकारी नभएको बताए ।

उने यसबारे तीनै तहको सरकारका प्रतिनिधिमा पर्याप्त जानकारी आवश्यक रहेको बताए । उनको यसको प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने समेत उल्लेख गरे । क्यान्सर जस्तो घातक रोगका विषयमा गम्भीर हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा समितिकी सभापति दिलकुमारी रावल पार्वतीले स्वास्थ्य बीमाअन्तर्गतको कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले क्यान्सर जस्तो रोगका विषयमा विद्यालयतहदेखि नै पाठ्यक्रममा समावेश गरी पठनपाठन गराउन सरकारसँग माग गरे । किशोरीहरुको पाठेघरको क्यान्सरविरुद्धको खोप अभियान चलाउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा विभिन्न दलका सांसदहरु, क्यान्सर रोगबाट निको भएर आएका प्रतिनिधि तथा चितवन र भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र जनस्वास्थ्यविद्को सहभागिता रहेको सभापति रावलले जानकारी दिए ।