अन्तर्राष्ट्रिय

टर्कीमा डुङ्गा पल्टिँदा ८ आप्रवासीको डुबेर मृत्यु

२ चैत, इस्तानबुल । टर्कीको समुद्री किनारामा डुङ्गा पल्टिँदा कम्तीमा आठ आप्रवासीको डुबेर मृत्यु भएको छ ।

स्थानीय गभर्नरको कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार डुङ्गा दुर्घटनामा परेका कूल १२ जनामध्ये आठ आप्रबासीको डुबेर मृत्यु भएको थियो भने बाँकी चार जनाको सकुशल उद्धार भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको राष्ट्रियता भने खुल्न सकेको छैन ।

टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्केलेको तटमा रहेको गोक्सिडा वा इम्ब्रोस भनिने टापुमा डुङ्गा पल्टिएको हो ।

अधिकारीहरूले खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । टर्कीले अधिकांश सिरियालीसहित करिब ४० लाख शरणार्थीलाई आश्रय दिइरहेको छ ।
अङ्काराले सन् २०१६ मा युरोपेली सङ्घसँग आर्थिक सहायतालगायत विभिन्न प्रोत्साहनको बदलामा शरणार्थीहरूको आगमन रोक्न सम्झौता गरेको थियो ।