खेलकुद

गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता: सुष्मा र अस्मिता सेमिफाइनलमा

१५ चैत, काठमाडौँ । लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा आज सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन ।

महिला ५४ केजीमा गण्डकी प्रदेशकी सोनिया बडुवालले सुदूरपश्चिम प्रदेशकी निर्मला ऐडी तथा नेपाल आर्मीकी लालुमाया खत्री क्षेत्रीले एपीएफकी नाङ्जा बुढा मगरलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । त्यस्तै महिला ५७ केजीमा लुम्बिनीकी ललिता बस्नेतले गण्डकीकी दिक्षा राईलाई पाखा लगाउदै सेमिफाइनलमा पुगिन् । सोही तौलसमूहमा कोशी प्रदेशकी नारिका राई पनि सेमिफाइनलमा पुग्न सफल भइन् ।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित उक्त प्रतियोगिताको महिला ६० केजीमा बागमती प्रदेशकी नतिशा राना मगरले कर्णालीकी तुलसी भण्डारी तथा एपीएफकी सङ्गीता सुनारले नेपाल प्रहरीकी लक्ष्मी घर्ती मगरलाई पन्छ्याउँदै सेमिफाइनलमा स्थान बनाए ।

महिला ६६ केजीमा सुदूरपश्चिमकी सन्जिता चौधरीले बागमतीकी तृष्ना गुरुङ र एपीएफकी विनिता थापा मगरले कोशीकी नुमा सावाडेन तथा ७५ केजीमा लुम्बिनीकी जुनमाया थारुले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ७५ केजीमै आर्मीकी तृषा जबेगु पनि सेमिफाइनलमा पुगिन् ।

पुरुष ६३.५ केजीमा लुम्बिनीका अनिलकुमार पुनले कोशीका एक्लिश शाहीलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे । पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले कर्णालीका पासाङ इजाम सुब्बा र आर्मीका दानबहादुर दर्लामी मगरले गण्डकीका निशान गुरुङलाई पराजित गर्दै सेमिफाइनलमा पुगे ।

त्यस्तै ८० केजीमा कर्णालीका मनोज तामाङले कोशीका समिर नेवार र बागमतीका पासाङ शेर्पाले गण्डकीका तार्जन घर्ती मगरलाई हराउदै सेपिफाइनलमा पुगे । ९२ केजीमा एपीएफका रविन नेपालले कर्णालीका सन्दिप ज्ञवाली र आर्मीका महेन्द्र केसीले कोशीका गणेश श्रेष्ठ तथा ९२ केजीमाथि आर्मीका पवन मोक्तानले कर्णालीका सन्दिप हमाल र गण्डकीका सुनिल श्रेष्ठले लुम्बिनीका सुजन थापा मगरलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।