खेलकुद

बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

१६ चैत, नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाको आयोजनामा बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

म्यागङ गाउँपालिका–५ सामरीस्थित खेलमैदानमा आगामी वैशाख ७ देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । बिहीबार गरिएको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष आशा तामाङले ‘भलिबल खेलाडीको पहिचान तथा प्रवद्र्धन ः खेल, खेलाडी र क्षमताको संरक्षण’को मुख्य नाराका साथ खेल पर्यटन भित्र्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा प्रथम हुने पालिकाले तीन लाख तीन हजार तीन सय ३३ र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार तेस्रो हुने पालिकाले ५० हजार पाँच सय ५५ र चौथो हुनेले सान्त्वनास्वरुप २५ हजार पाँच सय २५ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने पालिकाले तीनजनासम्म पालिका बाहिरका खेलाडीलाई समावेश गराउन पाउने नियम आयोजकले बनाएको छ । खेलाडीको क्षमता वृद्धि गराउन र अनुभव साटासाटका लागि तीनजना देश तथा विदेशका जो कोही खेलाडीलाई समावेश गराउन पाउने नियम राखिएको प्रतियोगिताको संयोजक विजय गुरुङले बताए ।

प्रतियोगितामा सहभागी हुन प्रदेशका एक सय १९ वटै पालिकालाई टोली दर्ताका लागि आह्वान गरिएको छ ।