विचार/ब्लग

बिबाह प्रकृतिको उपहार हो, तर बाध्यकारी होईन

दिपिका खड्का /सामान्यतयाः महिला र पुरुष बीचमा श्रीमान् श्रीमतीको सम्बन्ध कायम गराउने संस्कृतिक, धार्मिक, परम्परागत तथा सामाजीक कार्यलाई नै बिबाह भनिन्छ । दुई हृदयको मिलन, जिन्दगीको सहयात्री, पवित्र बन्धन र पति पत्नीको सम्झौतालाई नै बिबाहको नाम दिईन्छ । बिबाह प्रकृतिको उपहार हो । पुलिङ्ग र स्तृलिङ्गबिचको सम्बन्धलाई बिबाह भनिने चलत भएपनि अहिलेको एकाईसौं शताब्दीमा समलिंगी जस्ता बिभिन्न बिबाहहरुले पनि मान्यता पाउन थालेका छन् । वंश र समाजलाई निरन्तरता दिन बिबाहले अत्यन्तै महत्वपुर्ण भुमिका खेलेका हुन्छ । बिबाह गर्ने किसिम आ आफ्नो जाती, धर्म, भुगोल र देश अनुसार फरक फरक हुने गर्दछ । जसमा सबैले आ– आफ्नै रितीरिवाज र संस्कृतिले गर्ने गर्दछन् ।

बिबाह एउटा पवित्र सम्झौता हो, सम्झौता सधै‌ पालना हुन्छ भन्ने छैन, त्यो टुट्न सक्छ, भत्किन सक्छ

कुनै पनि अपरिचित महिला तथा पुरुष बैबाहिक सम्बन्धमा बाधिनु बाचुन्जेल सबै दुःख सुःखलाई आत्मसाथ गनुै भनेको सानो कुरा होईन । बर्तमानको परिस्थितिलाई हेर्ने हो भने बिबाहलाई लिएर बिभिन्न बिकृतिहरु फैलिरहेको छ । यसै कारणले गर्दा सम्बन्ध बिच्छेद जस्ता घटनाहरु समाजमा एकदमै बढ्दो रुपमा देखा परिरहेको छ । कतिपय युवा युवतीहरु आफ्नो हैसियत भन्दा बढि खर्च गरेर पोशाक तथा गर–गहनाहरु लगाउने गर्दछन् । अर्थात् बिलासिताका बस्तुहरु प्रयोग गरेर अरुलाई देखाईरहेका हुन्छन् जुन उनीहरुको आफ्नो होईन । यस्ता गतिबिधिले दोस्रो ब्यक्ति प्रभावित त हुन्छन् तर यसले आफ्नो ईमान्दारीतामा असर पुर्याउदछ र पछि गएर सम्बन्धमा पनि चिसोपना ल्याउँदछ । अझ कतिपयका सानै उमेरमा प्रेम सम्बधमा परेर परिवारको अनुमति बिना नै भागेर पनि बिबाह गरिरहेका हुन्छन् । यस्तो बिबाहले कालन्तरमा समस्या श्रृजना हुन सक्छ ।
बिबाह गर्नेपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन । कतिपय यस्ता हुन्छन्, जो बिबाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु बिबाह नगरी एक्लो जीवन बिताउनमै कल्याण मान्छन् । अहिले त के सम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अबिबाहित आमा वा बुबाको रुपमा जीवन बिताउने प्रचलन पनि आईसकेको छ । कतिपयले बिबाहलाई बन्धनको रुपमा पनि लिएका हुन्छन् । बिबाह गरेपछि आफ्ना रहर, इच्छा, सोच, चिन्तन त्याग्नुपर्छ एक अर्का ब्यक्ति अथवा श्रीमान श्रीमतीको गल्ती कमजोरी पनी स्वीकार्न भन्ने मान्यता बोकेका हुन्छन् । त्यसैले सबैलै जीवनलाई आ आफ्नै तरीकाले जसरी जसरी बुझेका हुन्छन्, त्यहि अनुरुप जीवन जिउने छुट हुन्छ । बिबाह बाध्यकारी होईन । बिबाह नगरी पनि जीवन सुखमयसँग बिताउन सकिन्छ भन्ने उनीहरुको राय रहन्छ ।

पहिले पहिले छोरीहरुको बिबाह महिनावारी हुनु भन्दा अगाडी गराई दियो भने पुण्य हुने जस्ता नकारात्मक सोचहरुले सानै उमेरमा बिबहा गरेका महिलाहरुलाई शारिरिक मात्र नभई मानसिक रुपले पनि धेरै असर पारिरहेको हुन्थ्यो । छिटै बिबाह अर्थात् छिटै बच्चा जन्माउने भन्ने बुझिन्छ र आफु परिपक्व नभई सानै उमेरमा बच्चा जन्माउनाले आमा र बच्चा दुबैलाई असर पुर्याउदछ, जसले गर्दा दुबैको ज्यान पनि जान सक्छ । दुर्गम क्षेत्रमा अहिले पनि हेर्ने हो भने महिलाहरु घरेलु हिंसा, शिक्षा तथा स्वास्थ्यको ज्ञान नभएका कारण धेरै दुःख भोग्नु परिरहेका छन् र सहरी क्षेत्रमा हेर्दा अरुको देखासिखी गर्ने, बिलासिताका जिवन रोज्ने र स्वतन्त्रता खोज्ने नाममा सम्बन्धहरु खस्किदै गईरहेका छन् र कतिपयका श्रीमान् अथवा श्रीमती बिदेशमा हुने भएका कारण अरुसँग लागेर सम्बन्ध बिग्रीएर डिभोर्स भएका खबरहरु धेरै आईरहेका हुन्छन् । तर अहिलेको कानुनी अवस्थालाई नियाल्ने हो भने कुनै पनि बिबाह २० बर्ष भन्दा कम उमेरमा आफ्नो अनुमति बिना जबरजस्ती बिबाह गराईदिएमा कारबाही हुने संबिधान र नेपालको प्रचलित कानूनमा नै ब्यबस्था रहेको छ, त्यस्ता बिबाह गर्ने, गराउने, गर्न उक्साउने सबैलाई हदैसम्मको कारबाही हुन्छ र महिला सम्बन्धिको हक र अधिकारहरुको पनि धेरै ऐन नियम कानुनहरु बनिसकेको छ । बिबाह एउटा पवित्र सम्झौता पनि हो, सम्झौता सधै पालना हुन्छ भन्ने छैन, त्यो टुट्न सक्छ, भत्किन सक्छ, सम्झौता दुबै पक्षले पालना गर्न जरुरी हुन्छ त्यसमा कसैले तलमाथी गर्यो भने सम्बन्ध नै धरापमा पर्छ तर सधै‌ सबै सम्झौताको सुखद अन्त्य हुदैन । जति प्रयास गर्दा पनि एक अर्कालाई बुझ्न नसक्दा वा बुझाउन नसक्दा र कहिले काहि लापरवाही र नियतबस पनि सम्झौता तोडिन्छ । त्यसता सम्बन्ध कतिपय अवस्थामा दुस्मनीको रुपमा रुपान्तरण भईदिन्छ । कतिपय ठाउँहरुमा आत्माहत्या र हत्या सम्म भएको सुनिन्छ । सँगै बस्नै नसक्ने भए पछि जिन्दगी भरी रुदै बस्नु भन्दा छुटिनु नै उपयुक्त हुन्छ ।

बिबाह भन्ने बित्तिकै प्रजनन् स्वास्थ्यसगँ पनि जोडिएको हुन्छ जसमा महिलाहरु छिटै बच्चा जन्माउनाले महिलाको प्रजनन् स्वास्थ्यमा धेरै असर पार्दछ । कतिपय महिलाहरुलाई यस्ता बिषयमा ज्ञान भएको हुँदैन । सबै भन्दा पहिले त महिलाहरुलाई यस्ता बिषयमा ज्ञान दिन जरुरी हुन्छ र अर्को बिबाह आर्थिक अवस्थासँग पनि जोडिएको हुन्छ, जसमा महिलाहरु आर्थिक अवस्थाले हेर्ने हो प्रायः उनीहरु पछाडी नै परिरहेका हुन्छन् जसले गर्दा महिलाहरु परिवारमा हेलामा पर्ने, आर्थिक क्रियाकलायमा पछाडी पर्ने गर्दछन्, त्यसले गर्दा आर्थिक, शिक्षित सबै कुराले परिपक्व भएपछि जोडेको सम्बन्ध टिकाउ हुने गर्दछ ।
बिबाह बन्धनमा बाधिसके पछि महिला र पुरुषको सगँैसगैं जिम्मेवारी बढ्दछ । जसमा दुबैको उत्तीकै जिम्मेवारी हुन्छ तर नेपाली समाजलाई हेर्ने हो भने बिबाह पश्चात् महिलाहरु घरायसी काममा बाँधिने र पुरुषहरुको बाहिरको काममा लाग्ने गर्दछन् । यस्तै कारणहरुले महिलाहरु आर्थिक तवरले पछाडी पर्ने गर्दछन् ।

बैबाहिक जीवनमा प्रवेश गरेपछि जिन्दगिले अर्को लय समात्छ । बिबाह गर्नु या नगर्नु हरेक ब्यक्तिको आ आफ्नो ईच्छाको कुरा हुन्छ । तर हाम्रो नेपाली समाजमा बिशेष गरी महिलाहरुले ढिला बिबाह गरे भने वा बिबाह नै नगरी बस्यो भने बुढी कन्या नै भएर बसी, झुमा बसी भन्ने चलन रहेको छ । समाजमा उनीहरुलाई हर्ने दृष्टिकोण नै फरक पर्दछ । कुनै केटा नपाएर बिबाह नभएकी, अलाछिना जस्ता बिभिन्न आरोप लगाई रहेका हुन्छन् ।

पछिल्लो समयमा मागी बिबाह भन्दा पनि प्रेम बिबाह गर्ने प्रचलन धेरै चलिरहेको छ । प्रेम, बिबाह र सम्बन्ध बिच्छेदका बिषयमा अहिलेका किशोर किशोरीमा बिकृति देखा परिरहेको छ । सामाजिक सञ्जाल मार्फत एकअर्का नजिक भएका हुन्छन् । त्यसैले हरेक पल हरेक क्षणको कुराहरु अपडेट भईरहेका हुन्छन् । कतिपयको हकमा सामाजिक सञ्जालबाट नै प्रेम प्रस्ताव राख्छन् र हरेक पक्षबाट नजिकिन्छन् अनि बिबाह गर्ने तयारीमा पुग्छन् । कुनै पनि कुरामा बिचार नै नगरी बिबाह गर्ने आँट लिन्छन्, आखिर त्यसको परिणाम फल थाहा हुदैन । यस्ता कारणहरुले सम्बन्धमा दरार आउने सम्भावना प्रवल रहन्छ । यसरी हरेक ब्यक्तिले आफ्नो जीवन साथीको योग्यता, ब्यबहार, शिक्षा, सम्झौता गर्न सक्ने क्षमता हुनु अति आवश्यक छ । यि कुराहरुले मेल खाएमा बिबाह गर्न उपयुक्त हुन्छ र दाम्पत्य जीवन पनि सुखमय र शान्तसगै बिताउन सकिन्छ तब मात्रै जीबनको सार्थकता हुन्छ । बिबाह भन्ने शब्द सुन्दा सजिलो छ तर त्यसको जिम्मेवारी बोध गर्न एकदमै गाह्रो देखिन्छ, सोच बिचार गरेर जीवन साथी रोच्न सकिएन भने कतिपय जोडिहरुको जीन्दगीनै तहस नहस हुनेगरी सम्बन्ध बिच्छेद हुने गर्दछ ।

यसरी नै हरेक सम्बन्धमा राम्रो नराम्रो दुबै पक्ष हुन्छ । आफ्नो जीवन कस्तो बनाउने र कसरी बिताउने भन्ने मुख्य हात आफ्नै रहेको हुन्छ । दाम्पत्य जीवन सुखमय होस् भन्ने चाहाना सबैको हुन्छ तर कतिपय समयमा सही निर्णय गर्न मुश्कील पर्नपनि सक्छ, यसमा बरु ढिलो निर्णय गर्नु तर सही निर्णय गर्नु उपयुक्त हो । बिबाह पश्चात् समय ब्यबस्थापन गर्न नसक्दा वा पति पत्नीले एकअर्कालाई पर्याप्त समय दिन नसक्दा धरै बैबाहिक जीवनमा बिस्तारै चिसोपना बढ्दै गएर पनि परिवार बिग्रिएका दृष्टान्त हाम्रो समाजमा रहेका हुन्छ । त्यसतै बैबाहिक जीवनलाई राम्रोसगं अगाडी लैजाने हो भने अथवा बिबाह जस्तो सम्बन्धलाई सहज र सुन्दर बनाउनको लागी सबैे भन्दा पहिले असल बानी ब्यहोरा असल चरित्र सबै भन्दा जरुरी हुन्छ । बैबाहिक जीवनमा सुख एवं प्रेमका लागि श्रीमान् श्रीमती बीचको समझदारी हुन पनि एकदमै आवश्यक हुन्छ । एकजना आगो भएको बेला अर्को पानी बन्नु पर्दछ । दुबैजना आगो बनेमा स्थिती अनियन्त्रित हुनसक्छ, जसले गर्दा सम्बन्धमा गिरावट आउने गर्दछ । त्यसैले बिबाह जस्तो सम्बन्ध जोगाउन एकअर्का प्रति उति नै बफादारी भएर कर्तब्य निभाउन पर्दछ तब मात्रै सम्बन्ध टिकाउ हुने गर्छ । प्रेम, बिबाह, उमेर, सम्बन्ध बिच्छेद, बैबाहिक कानून आदिलाई बिबाह गर्नेहरुले एकदमै नजिकबाट बुझ्न जरुरी छ । उसलाई नकिजबाट बुझ्न नसकेर साथीभाईको लइ लईमा लागेर प्रम वा बिबाह गर्दा कालन्तरसम्म तनाव भोग्नुपर्ने देखिन्छ ।