राजनीति

माधव नेपालसहित विपक्षी दलका शीर्ष नेताहरु देउवा निवासमा, मधेश सरकारबारे छलफल

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई जना प्रतिपक्षी दलका नेता र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई निजी निवास बुढानीलकण्ठ बोलाएका छन् ।

मधेश प्रदेश सरकार जोगाउने बारे छलफल गर्न देउवाले नेपालसहित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्त ठाकुरलाई डाकेका हुन् । उनीहरुको छलफल आजै साँझ ५ बजे हुनेछ ।

मधेशमा जसपा नेपालका सरोज यादवको नेतृत्वमा सरकार छ । तर, सत्तारुढ दलहरु एमाले र माओवादीले सरकार छाडेपछि उनी अल्पमतमा छन् ।

कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपास एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धनविरुद्धको सरकार बन्ने देखिन्छ । मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।