राजनीति

एकीकृत समाजवादी अरु जस्तो साधारण पार्टी होइन : अध्यक्ष नेपाल

१५ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनबाट नेतृत्व सहमतिमै चयन हुने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस अगाडि पार्टीका चारवटै दस्तावेज सहमतिमै पास भएको बताएका हुन्।

उनले अहिलेको विशिष्ट अवस्थामा नेताहरु हातेमालो गर्दै मिलेर अगाडि बढ्न कार्यकर्ताबाट स्वरहरु बढिरहेको बताए। नेपालले अरु पार्टी जस्तो सामान्य पार्टी एकीकृत समाजवादी नभएको दाबी गरे।

‘नेपाली समाजमा ठूला ठूला उथलपुथल भइरहेका छन्। प्रत्येक उथलपुथलमा हामीले अग्रगामी भूमिका खेलेका छौं। हामी सहभागी मात्र होइन, अगुवाई पनि गरिरहेका छौं अरु पार्टी जस्तो साधारण पार्टी एकीकृत समाजवादी होइन । त्यतिकै घटनाक्रममा सहभागी हुने पार्टी होइन’ उनले भने ।