राजनीति

एमाले-कांग्रेसको संविधान संशोधन गर्ने एजेण्डा स्वागतयोग्य : राप्रपा

१८ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेस र नेकपा एमालेको संविधान संशोधनको एजेण्डा स्वागतयोग्य भएको बताएको छ। पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पार्टीको बैठकले संविधान संशोधनको एजेण्डा स्वागतयोग्य भएको र यसलाई अगाडि बढाउन आफूले सहयोग गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

संविधान परिवर्तन गर्नुपर्ने पार्टीको पुरानो धारण भएको बताउँदै उनले ढिलै भएपनि ठूला दुई दल कांग्रेस र एमालेले संविधान संशोधनको एजेण्डा ल्याउनु सुखद भएको प्रतिक्रिया दिए।

“यो संविधानले काम गरेन यो संविधानमा आमूल परिवर्तन नगरिकन हुन्न र यसका लागि नेपालका सबै राजनीतिक दलहरूका बीचमा एउटा नयाँ समझदारी बन्नुपर्छ। देश पछाडि फर्केर पनि सक्दैन र यही बसेर पनि सक्दैन। नयाँ संझौता गरेर देशलाई अगाडि बढाउनुपर्छ भनेर भनिराखेका थियौं। अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएका छन्। यो सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन हो, संविधान संशोधनका लागि प्रमुख दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो। यसलाई हामीले स्वागतयोग्य विषय मानेका छौं ” उनले बताए ।