३ साउन, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंकका लागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले आज पोखरामा आयोजना गरेको कार्यक्रममा आयोजना अवधारणा पत्र सार्वजनिक गर्दै उनले अहिले पनि पहुँचका आधारमा योजना पर्ने गरेको गुनासो सुन्नुपरेको उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले विशेषगरी बजेट निर्माणका बेलामा आफ्नो क्षेत्रमा योजना पार्नका लागि सांसद, कर्मचारी तथा राजनीतिक नेतृत्वको दबाब बढी हुने गरेको सुनाए । उनले भने, “आवश्यकताका आधारमा गरौँ भन्यो भने कसैले मान्दैनन् । भइरहेको बाटो बाह्रै महिना राम्रोसँग चल्ने बनाइदेऊ भनेर कसैले भन्दैन । बरु उसले पहिला मेरो घरको बाटो बनाइदेउ भन्छ, त्यसपछि गाउँ जाने बाटो, वडा जाने बाटो र बल्ल अन्तिममा पालिकाको बाटो भन्छन् ।”
आयोजना बैंक भएमा व्यावहारिक कार्यान्वयनमा सहजता हुने भए पनि मानसिकरूपमा नबदलिएसम्म कार्यान्वयनमा जान नसकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । “आयोजना बैंकको अवधारणा राम्रो भए पनि लागू गर्न व्यावहारिक रूपमा कठिन कठिनाइ छ । सबै मिलेर सकारात्मक निर्णय गर्दा मात्र लागू गर्न सकिन्छ”, मुख्यमन्त्रीले भने ।