२७ साउन, काराकस । भेनेजुएलाका विपक्षी उम्मेदवारले शनिबार राष्ट्रपति निकोलस मदुरोसँग ‘हिंसा र उत्पीडन’ अन्त्य गर्न आह्वान गरेका छन् । मुलुकको उच्च अदालतले जुलाई २८ को विवादित निर्वाचनमा आगामी फैसलाविरुद्ध पुनरावेदन गर्न नसकिने बताएको केही घन्टापछि विपक्षी उम्मेदवारले उक्त आह्वान गरेका हुन् ।
ठूलो अन्तरले राष्ट्रपति पदमा विजयी भएको दाबी गर्ने एडमन्डो गोन्जालेज उरुटियाले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै मदुरोसँग स्वतन्त्र राजनीतिक अभिव्यक्तिको अनुमति दिन माग गरे ।
“म सबै भेनेजुएलाबासीका तर्फबाट तपाईंसँग हिंसा र उत्पीडन अन्त्य गर्न तथा मनमानी ढङ्गले हिरासतमा राखिएका सबै देशबासीलाई तुरुन्त रिहा गर्न आग्रह गर्दछु”, निर्वाचनपछिको अशान्तिलाई उल्लेख गर्दै ७४ वर्षीय गोन्जालेज उरुटियाले भने, “हाम्रो संविधानप्रतिको सम्मानको माग गर्नु कुनै अपराध होइन, लाखौँ भेनेजुएलाबासीको इच्छालाई समर्थन गर्न शान्तिपूर्ण प्रदर्शन गर्नु कुनै अपराध होइन ।”
निर्वाचनपछिको हिंसामा २४ जनाको मृत्यु भएको थियो भने दुई हजार दुई सय जनालाई पक्राउ गरिएको छ ।
सर्वोच्च अदालतले निर्वाचनमा लडेका उम्मेदवारका लागि आफ्नो आगामी फैसला ‘अन्तिम’ हुने बताएपछि एक साताभन्दा लामो समयदेखि सार्वजनिकरूपमा नदेखिएका गोन्जालेज उरुटियाको उक्त सन्देश आएको हो ।
सर्वोच्च अदालतका अध्यक्ष कारिल्सिया रोड्रिग्वेजले भने, “अन्तिम फैसला गर्ने उद्देश्यले सन् २०२४ अगस्ट ५ मा सुरु भएको मूल्याङ्कनलाई जारी राखिएको छ, यसका फैसला अन्तिम र बाध्यकारी हुनेछन् ।”
निर्वाचनमा सामान्य जीतको दाबी गरेका राष्ट्रपति मदुरोप्रति उच्च अदालत बफादार रहेको अधिकांश पर्यवेक्षकहरूले बताएका छन् ।
विपक्षी नेताहरूका अनुसार गोन्जालेज उरुटियाले अत्यधिक मतका साथ जित हासिल गरेका छन्। उनीहरूले मतदान स्थलबाट प्राप्त आधिकारिक तथ्याङ्कलाई प्रमाणका रूपमा पेश गरेका छन् ।
मदुरोले आफैँले आफ्नो जीतलाई ‘प्रमाणित’ गर्नका लागि अगस्ट १ मा उच्च अदालतमा पुनरावेदन दिएका छन् ।
अदालतले यो साता गोन्जालेज उरुटियाबाहेक सबै उम्मेदवारको सुनुवाइ गरेको छ । पक्राउ पर्ने डरले सुनुवाइमा उपस्थित नभएको गोन्जालेज उरुटियाले बताएका छन्।
प्रमुख विपक्षी नेता मारिया कोरिना मचाडोले आफू लुकेर बसेको बताएका छन् । पूर्वराष्ट्रपति उम्मेदवार मचाडोलाई यस पटक निर्वाचनमा उम्मेदवारी दिन प्रतिबन्ध लगाइएको थियो ।
‘अवज्ञालाई उक्साएको’ लगायतका अपराधहरूका लागि गोन्जालेज उरुटिया र मचाडो दुवैलाई न्याय विभागले अनुसन्धान गरिरहेको छ । न्याय विभागलाई पनि मदुरोप्रति बफादार अर्को राज्य संस्था मानिन्छ ।
नेसनल इलेक्टोरल काउन्सिल सिएनईले अगस्ट २ मा मदुरोको जीत अनुमोदन गर्दै उनले ५२ प्रतिशत मत हासिल गरेको बताएको थियो । तर उसले डाटा ह्याक भएको भन्दै चुनावी स्थलहरूबाट सटीक तथ्याङ्क जारी गर्न अस्वीकार गर्यो ।
यसको विपरीत विपक्षीहरूले मुद्रित विवरण प्रकाशित गरेका छन् । उनीहरूले गोन्जालेज उरुटियालाई ६७ प्रतिशत मत हासिल भएको बताएका छन् । विपक्षीहरूको वैधतालाई मदुरोले अस्वीकार गरेका छन्।
विपक्षी र धेरै पर्यवेक्षकले निर्वाचन परिणामको कथित ह्याकिङलाई चुनावी अभिलेख प्रकाशित नगर्ने बहाना बनाउने सरकारको मनगढन्ते कुरा भएको बताएका छन् ।





