प्रदेश 1

झापा अदालतमा थुनुवा कक्ष निर्माण

२८ साउन, बनियानी । झापा जिल्ला अदालत परिसरमा थुनुवा कक्ष निर्माण भएको छ । आज एक कार्यक्रमकाबीच थुनुवा कक्षको झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेत र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे ।

विभिन्न मुद्दामा फौजदारी अभियोग लागेका प्रतिवादीलाई मुद्दाको प्रक्रियागत सिलसिलामा अदालतमा उपस्थित गराउँदा सुरक्षित तवरले राख्नका लागि अदालतमा थुनुवा कक्ष निर्माण गरिएको झापा अदालतका प्रमुख न्यायाधीश बस्नेतले बताए ।

“थुनुवाहरूले आफन्तसँग भेटघाट गर्न पाइएन भन्ने गुनासो आउने गरेको छ”, उनले भने, “थुनुवा कक्ष निर्माण भएसँगै थुनुवासँग उनीहरूका आफन्तले छोटो भेटघाट र बोलचाल गर्न सकिने भएको छ ।”

न्यायसम्पादनमा सहजता ल्याउने उद्देश्यले थुनुवा कक्ष निर्माणका लागि सहयोग गरिएको नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले बताए । भद्रपुर नगरपालिकाको १० लाख लागतमा निर्माण भएको थुनुवा कक्ष ३० जना क्षमताको रहेको छ भने महिला र पुरुषको फरकफरक शौचालय रहेको छ ।