३० साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नवनिर्मित सिधुवा–शुक्रबारे सडक आज उद्घाटन गरका छन् ।
कोशी प्रदेश सरकारको महत्त्वपूर्ण योजनाका रूपमा रहेको सो सडक रु ८९ करोड ९० लाख लागतमा निर्माण गरिएको हो । सडकको लम्बाई १७ किमी रहेको छ ।
प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेका बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्त्वपूर्ण योगदान पुग्ने प्रदेश सरकारको दाबी छ । यो सडक निर्माणले तेह्रथुमको कृषि एवं पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यो सडक धनकुटाको सिधुवाबाट सुरु भएर तेह्रथुमको सदरमुकामसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक निर्माणले स्थानीयस्तरमा बजार प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले पहाडी जिल्लामा भइरहेको बसाइँसराइ रोक्न र कृषि एवं पर्यटन प्रवर्द्धनमा सडकले सहयोग पुर्याउने बताए।
मुख्यमन्त्री कार्कीले भने, “आज पहाडमा बसाइँसराइ बढ्दै गएको छ, यो रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्नेछ ।” उनले प्रदेश संरचना नयाँ भए पनि यो सडकले प्रदेशको समृद्धिका लागि सहयोग गर्ने बताए ।
“नयाँ संरचना हो, हामी यस्तै राम्रा र देखाउन लायक काम गर्नेछौँ”, उनले भने, “आगामी असोज ११ गते पर्यटन दिवसका दिन सबै नीतिगत कुराहरू घोषणा गरेर पर्यटन वर्षको तयारीलाई तीव्रता दिनेछौँ ।”
मुख्यमन्त्री कार्कीले आज नै तेह्रथुमको छथहर जोरपाटीको खेलकुदलगायत विभिन्न कार्यक्रममा सहभागिता जनाएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।





