३१ साउन, कोलकाता । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका सहभागीले संसारका विभिन्न मुलुकमा पुगेका नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने माध्यम नेपाली भाषा भएकाले यसको संरक्षणमा जोड दिएका छन् ।
पश्चिम बङ्गालका खाद्य र उद्योगमन्त्री अनुप रायले नेपाली भाषाका माध्यमबाट सबै नेपालीभाषीलाई जोड्न भानुभक्त आचार्यले गरेको योगदानको कदर गर्दै स्थानीय सडक उहाँको नामबाट राखिएको बताउनुभयो ।
नेपाल र भारतबीच सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर रहेको चर्चा गर्दै भाषा, साहित्यका माध्यमबाट पनि भारत र नेपाल नजिक छन् भने । उनले भारत र नेपालबीच भाषिक समानता पनि रहेको बताए। यो समानताले पारस्परिक सम्बन्ध अझ सुमधुर बनेको उनको कथन थियो ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत जनकराज भट्टले नेपाली भाषा र सहित्यका क्षेत्रमा आदिकविले पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको बताए ।
प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले धेरै बोलिने भाषाको सूचीमा ५९औँ स्थानमा नेपाली भाषा रहेको बताउँदै विश्वका विभिन्न मुलुकका शैक्षिक प्रतिष्ठानमा नेपाली पठनपाठन सुरु गरिनुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य कृष्णराज अधिकारीले भाषा र संस्कृतिले नै देशलाई चिनाउने भएकाले यसको संरक्षण हुनुपर्ने बताए ।
जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले आदिकवि भानुभक्तले भाषाको माध्यमबाट सबै नेपालीजनलाई एउटै सूत्रमा आबद्ध गर्न निर्वाह गर्नुभएको योगदानको जति प्रशंसा गरे पनि कम हुन्छ भने । आदिकविको सम्मानमा पश्चिम बङ्गाल सरकारले उनको नाममा सडकको नामकरण गरेकामा कृतज्ञता ज्ञापन गरे।
समितिका अध्यक्ष बद्रीविक्रम थापाले नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्त आचार्यले पुर्याउनुभएको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रत्येक वर्ष प्रवासमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए।
त्यस अवसरमा कोलकातामा रहेका नेपालीले मातृभूमिमा कला, संस्कृति, वेशभूषा भल्कने मौलिक संस्कृति प्रदर्शन गर्नुका साथै नेपाली, बङ्गाली र हिन्दीमा गीत प्रस्तुत गरेका थिए ।





