समाचार

सोलुखुम्बुको थामेमा भीषण बाढी

३२ साउन, सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथीबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे । थामे गाउँमा बाढीले क्षति पु¥याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले पुष्टि गरे। उनले दुधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय वासिन्दालाई सचेत गराइएको बताए ।

प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामे तर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए । स्थानीयले टाशीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकिन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।