समाचार

नेपाली भाषा साहित्य संस्कृति र दर्शनको अनुसन्धान गर्ने सहमति

३२ साउन, उत्तरप्रदेश । नेपाल प्रज्ञाप्रतिष्ठान र काशी हिन्दु विश्वविद्यालय वाराणसी भारतअन्तर्गत कला सङ्घ सङ्कायको भारतीय भाषा विभागबीच नेपाली भाषा साहित्य, संस्कृति तथा दर्शनको अध्ययन अनुसन्धान गर्नेसम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिबद्धतापत्रमा प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी र भारतीय भाषा विभाग प्रमुख प्राडा दिवाकर प्रधानले हस्ताक्षरण गरेका छन् । प्रतिबद्धतापत्रमा विमर्शसहितका कार्य गर्न नेपाली भाषा साहित्य दर्शनजस्ता नेपाली वाङ्मय र भारतीय नेपाली वाङ्मयबीच समय समयमा कार्यक्रम गर्ने सहमति भएको छ ।

नेपाली भाषाको श्रीवृद्धिका लागि अध्ययन अनुसन्धन र अनुवादका क्षेत्रमा सहकार्य गर्ने सहमति दुवै पक्षबीच भएको छ । प्रतिष्ठानले भारतीय भाषा विभागमा अध्ययनरत शोधार्थीका लागि यथाशक्य विद्वतवृत्ति प्रदान गर्ने र वृत्तिका माध्यमबाट भारतीय नेपाली भाषा र साहित्यबारे अध्ययन गर्न प्रोत्साहन गर्ने सहमति भएको छ ।

पशुपति वैदिक आश्रम गुरुकुल विद्यालय नवलपुरका प्रमुख सल्लाहकार धर्मराज बरालको सक्रियतामा दुवै पक्षबीच प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको हो । प्रतिबद्धतापत्रको साक्षीका रुपमा सम्पूर्णानन्द संस्कृति विश्वविद्यालय वाराणसीका प्राडा हरिप्रसाद अधिकारी, प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य कृष्णराज अधिकारी, भारतीय भाषा विभाग काशि विश्वविद्यालय नेपालपीठका प्रमुख डा मुकुन्द शर्मा रहेका छन्।

प्रतिबद्धतापत्र कार्यान्वयनका लागि निरन्तर रुपमा नागरिक स्तरबाट अभियान चलाउने अभियानकर्मी बरालले बताए ।