समाचार

सिंहदरबारलाई प्लास्टिकमुक्त गरिन्छः वनमन्त्री ठकुरी

३२ साउन, काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने प्रतिबद्धता दो¥याएका छन् ।

वन तथा वातावरण मन्त्रालयको सहकार्यमा साथसाथै फाउन्डेसनले आयोजना गरेको जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र चाडपर्वलाई वातावरणमैत्री बनाउने अभियान घोषणा कार्यक्रममा उक्त प्रतिबद्धता जनाए ।

मन्त्री ठकुरीले भने, “हामीले यसअघि नै आफ्नो मन्त्रालयलाई प्रयोग गर्न अयोग्य प्लास्टिकमुक्त बनाइसकेका छौँ, अब सबै मन्त्रालयमा यो अभियान पु¥याउनेछौँ, यसमा सबैको सहयोगको अपेक्षा गरेका छौँ ।” उनले सिंहदरबारभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रतिबन्धमा कडाइ गरिने उल्लेख गरे ।

मन्त्री ठकुरीले वातावरणीय प्रदूषण र जलवायु प्रदूषण अहिले मुख्य समस्याका रुपमा रहेको उल्लेख गरे। नेपालले अहिले वन क्षेत्र बढाएर करिब ४५ प्रतिशत पु¥याएको तथा स्वच्छ ऊर्जाको खपतका साथै बायोग्यास प्लान्टमा ध्यान दिइएको पनि उनले बताए । हिमाली क्षेत्रमा तापक्रम वृद्धि हुँदै गइरहेकाले यसको बढी असर पनि त्यस क्षेत्रमा पर्ने गरेको उनले उल्लेख गरे ।

वनमन्त्री शाहीले नेपालले जलवायु परिवर्तनलाई मुख्य प्राथमिकतामा राखेर नीतिगत सुधारको थालनी गरेको पनि जानकारी दिए ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले वातावरणीय सङ्कटले पर्वावरण मात्रै नभई जीवनलाई नै खतरामा पु¥याएको उल्लेख गरे । “महिला र वातावरणमाथि पनि विभेद छ, यसलाई कसरी न्याय दिलाउने त्यसतर्फ ध्यान दिन जरुरी छ । हाम्रो अभ्यासलाई पनि हामी आफैँले चुनौती दिनुपर्छ”, उनले भने।

उनले वातावरणीय न्याय दिलाउने कार्यमा सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी भएको खाँचो औँल्याए । वातावरण र विकासलाई सन्तुलन कायम गर्नेतर्फ पनि ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

यसअघि समूहगत छलफल सत्रमा वन तथा वातावरण राज्यमन्त्री रुपा बिकले वातावरणलाई प्रदूषित तुल्याउने सामग्रीको प्रयोगलाई निरुत्साहित गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

उनले तीज पर्वलाई कसरी हरितमैत्री बनाउनेभन्नेबारे सरोकारवालासँगको छलफल सान्दर्भिक रहेको बताए । उनले जलवायु परिवर्तनको बढी असर महिलामा देखिएको उल्लेख गर्दै वातावरण संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि तल्लो तहसम्म सचेतना अभियान चलाउन जरुरी भएको बताए ।

पूर्वमन्त्री डा विमला राई पौडेलले जलवायु परिवर्तनको असरसँग जुध्न सबै एकताबद्ध भएर लाग्नुपर्ने खाँचो औँल्याए । “नयाँ लुगा किन्नु भनेको नयाँ रूख ढाल्नु हो, पुरानो लुगा फाल्नु भनेको प्रकृतिलाई बोझ गराउनु हो”, उनले भने, संस्कृतिको जगेर्ना गर्दै चाडपर्वका नाममा हुने विकृतिलाई निरुत्साहित गरौँ ।”

मधेसी आयोगका सदस्य रेणुदेवी साहले जलवायु परिवर्तनको जोखिमको प्रभाव हरेक क्षेत्रमा परेको बताउँदै मानिसका हरेक क्रियाकलापलाई वातावरणमैत्री बनाउन जरुरी रहेको औँल्याए ।

संयुक्त राष्ट्र सङ्घीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति सिड का सदस्य बन्दना राणाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले वातावरण विनाश र जलवायु परिवर्तनको असर हरेक क्षेत्रलाई रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनको असरबाट जोगाउन सबैलाई जनचेतना जगाई सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य जरुरी भएको बताए । अभियन्ता दीक्षा बरालले वातावरण संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे सम्बन्धी जनचेतना अभिवृद्धि जरुरी भएको उल्लेख गरे ।