समाचार

पण्डितले समाज र राष्ट्रलाई दिएको योगदानको मूल्याङ्कन गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

१ भदौ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि व्यक्तिले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।

गणेश पण्डित स्मृति केन्द्रले आज आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ वामचिन्तक गणेश पण्डितको स्मृति ग्रन्थ विमोचन समारोहमा उनले पण्डितको मूल्याङ्कन पनि समाज र राष्ट्रलाई दिएको योगदानका आधारमा गर्नुपर्ने धारणा राखे ।

पूर्वराष्ट्रपति भण्डारीले अनेकौँ अवसरलाई बेवास्ता गर्दै जिल्लाको शैक्षिक उन्नयनका लागि समर्पित पण्डितले पञ्चायती कालरात्रिको अवधिमा अनेक यातना र जेलनेल भोग्नुपर्दा समेत राजनीतिमा निरन्तर लागेको बताए । “अप्ठ्यारो परिस्थितिमा समेत निर्भयका साथ देश र जनताका पक्षमा निरन्तर क्रियाशील भइरहने उहाँको क्रान्तिकारी स्वभावबाट खुला लोकतान्त्रिक परिवेशमा राजनीतिमा आबद्ध भएका नेता तथा कार्यकर्ताले गहन शिक्षा लिनुपर्दछ,” उनले भने ।

पूर्वराष्ट्रपति भण्डारीले विसं २०१७ देखि २०४६ सम्म पञ्चायती शासनको कहालिलाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखी राजनीतिमा होमिएको स्मरण गरे । जनस्तरबाट स्थापित नेता पण्डितको स्मृति ग्रन्थ प्रकाशन गरेर केन्द्रले राष्ट्र र जनताका लागि पण्डितले दिएको योगदानलाई जनसमक्ष ल्याउने र उनको स्मृतिलाई चिरस्थायी बनाउने काम गरेकामा प्रशंसा गरे ।

विसं २००३ साउन ३० गते नुवाकोटको शिखरबेँसीमा जन्मनुभएका गणेश पण्डितको पछिल्ला समयमा धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा लागेका थिए । उनको २०७५ साल फागुन २९ गते निधन भएको थियो । विद्यार्थी आन्दोलनमा लागेबापत पण्डितलाई पञ्चायती सरकारले उपत्यका प्रवेश निषेध गरेपछि उनी आफ्नो गृह जिल्ला नुवाकोटमा शिक्षण पेसामा आबद्ध भए। सुरूमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनमा आबद्ध भई वामपन्थी राजनीतिमा होमिनुभएका पण्डित २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलनतर्फबाट सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीले बताए ।

उनी २०४७ सालमा तत्कालीन नेकपा माक्र्सवादी हुँदै नेकपा एमालेमा समाहित भएका थिए । पण्डित विसं २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटबाट निर्वाचित भएका थिए । स्मृति ग्रन्थमा पण्डितले देश र जनताका पक्षमा गरेका कामको चर्चा गरिएको छ ।