४ भदौ, मड्रिड । विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले जनाएको छ ।
गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो ।
“मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो”, उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । “हामी उहाँको सम्झना सधै रहनेछ ।”
क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आउनुभएका ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएका थिए ।
“मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनु, मलाई आँसु मन पर्दैन । मेरा लागि दुःख नमान्नुहोस्। म जहाँ रहेपनि खुसी रहनेछु”, उनले आफ्नो परिवारद्वारा सञ्चालित सामाजिक सञ्जाल एक्समा बताएका हुन् ।
अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति जापानकी टोमिको इटुका छन् । सन् १९०८ मे २३ मा जन्मीएका टोमिको हाल ११६ वर्षको छन्।
सन् १९१८ को फ्लू, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र स्पेनको गृहयुद्धबाट गुज्रिएको ब्रान्यासलाई सन् २०२० मा ११३औँ जन्मदिनको केही हप्तापछि कोभिड–१९ भएको थियो । तर उनी पूर्ण रूपमा निको भएका थिए ।





