अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमणमा

५ भदौ,नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पोल्यान्ड र युक्रेनको भ्रमणका लागि प्रस्थान गरेका छन्।

कूटनीतिक सम्बन्धको ७० बर्ष पूरा गरेको अवसरमा भ्रमणका लागि नयाँ दिल्लीबाट पोल्याण्ड प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले आगामी दिनमा दुई देशसँगको सम्बन्ध जीवन्त बनाउन तत्पर रहेको बताएका छन् ।

यसैक्रममा उहाँले पोल्याण्ड मध्य युरोपको प्रमुख आर्थिक साझेदार रहेको जनाउँदै लोकतन्त्र र बहुलवादप्रति आपसी प्रतिबद्धताले सम्बन्धलाई अझ सुदृढ पार्ने उल्लेख गरेका छन् ।

उहाँले प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडालाई भेटवार्ता गरी साझेदारीलाई अगाडि बढाउनका लागि उत्सुक रहेको बताउँदै पोल्यान्डमा भारतीय समुदायसँग पनि साक्षातकार हुने विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निमन्त्रणामा पोल्यान्ड भ्रमणपछि उहाँ युक्रेन जाने कार्यक्रम तय भएको छ । भारतीय प्रधानमन्त्री मोदीको यो पहिलो युक्रेन भ्रमण हुन्छ ।

युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि द्विपक्षीय सहयोगलाई बलियो बनाउन राष्ट्रपति जेलेन्स्कीसँग पहिलेको सम्झौतालाई अगाडि बढाउने अवसरको प्रतिक्षामा रहेको प्रधानमन्त्री मोदीले बताएका छन् ।

प्रधानमन्त्री मादीले भ्रमणले दुई देशसँगको सम्पर्कको निरन्तरताको रूपमा काम गरी आगामी दिनमा जीवन्त सम्बन्धको जग निर्माण गर्न मद्दत गर्ने बताएका छन्।

प्रधानमन्त्री मोदीलाई वार्सामा औपचारिक स्वागत गरिनेछ । पोल्यान्डको भ्रमणपछि, प्रधानमन्त्री मोदी युक्रेनको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । युक्रेनमा युक्रेनी नेतृत्वसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानउन्मुख वार्ता गर्ने जनाइएको छ ।

प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमणको उदेश्यमा नेतृत्वसँग छलफल, भारतीय समुदाय, व्यापारीसँगको अन्तरक्रिया समावेश भएको विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयस्वालले सामाजिक सञ्जाल एक्समार्फत जनाएका छन् ।